लिभरपुल युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा भिल्लारियललाई ३-२ गोल अन्तरले पराजित गर्दै समग्रमा ५-२ को नतिजासहित लिभरपुल फाइनलमा पुगेको हो ।
पहिलो हाफमा भिल्लारियलले २-० को अग्रता लिएर लिभरपुललाई दबाबमा राखेको भएपनि लिभरपुलले कमब्याक गर्दै दोस्रो हाफमा ३ गोल गरेको थियो । लिभरपुलले खेलको ६२औं, ६७औं र ७४औं मिनेटमा गोल गरेको थियो ।
लिभरपुलको जितमा फाबिन्हो, लुइस डियाज र साडियो मानेले एक एक गोल गरेका थिए । त्यसअघि भिल्लारियलका लागि बोउलाए डिया र फ्रान्सिस कोक्वेनले एक एक गोल गरेका थिए ।
खेलमा खेलको ८५औ मिनेटमा एटीइन कापोउले रातो कार्ड पाएपछि भिल्लारियल १० खेलाडीमा सिमित भएको थियो ।
योसँगै लिभरपुल १०औँ पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । यसअघि ६ पटक उपाधि जितेको लिभरपुलले पछिल्लो पटक २०१९ मा उपाधि जितेको थियो ।
अब लिभरपुलले रियल म्याड्रिड र म्यानचेस्टर सिटीबीचको दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्ने छ ।