बागीलाई धम्की दिएको भन्दै निर्वाचन आयोगको आपत्ति

निर्वाचन आयोगले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन धम्की आएको सूचना प्राप्त भएको भन्दै आपत्ति जनाएको छ ।

आयोगले एक विज्ञप्तिमार्फत यस्ता गतिविधिले संविधान र प्रचलित कानून बमोजिम योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवं कानुनी अधिकार कुण्ठित हुन जाने स्पष्ट पारेको छ ।

आयोगले आफूलाई उम्मेदवारी फिर्ता लिन इच्छा लागेमा राजीखुसीले मात्रै फिर्ता लिनसक्ने व्यवस्था रहेको जनाएको छ ।

कुनै दलको तर्फबाट मनोनयनपत्र दर्ता भएको उम्मेदवारको हकमा तोकिएको पदाधिकारीले नाम फिर्ता लिनेगरी लिखित रुपमा लेखी पठाएमा पनि उम्मेदवारको नाम फिर्ता हुने भन्दै आयोगले यसबाहेकको अन्य कुनै पनि अवस्थामा उम्मेदवारी फिर्ता नहुने स्पष्ट गरेको छ ।

आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्ने संवैधानिक दायित्व पूरा गर्न आयोग कटिवद्ध रहेको पनि जनाएको छ ।