एनआरएनए अमेरिकाज क्षेत्रका आरसी राम सी पोखरेल र डिआरसी रामकुमार सुवेदीले एक बिज्ञप्ती जारी गर्दै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएनए अमेरिकाको नाममा नयाँ कार्यसमिति गठन गरिएको भनी सार्वजनिक गरिएको पत्रले आफ्नो ध्यान आकृष्ट भएको जनाएका छन् ।
विधान र विधि भन्दा बाहिर गएर विना आधार र कारण बुद्धि सागर सुवेदी अध्यक्ष रहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका भङ्ग गरिएको भनी एनआरएनए आइसीसी अमेरिका क्षेत्रका केही पदाधिकारिहरुको नाममा आएको पत्र अवैधानिक भएको उनीहरुले बताएका छन् ।
आम समुदायमा देखिएको निराशा घटाउने र एनआरएनएको प्रतिष्ठा बढाउनु पर्ने समयमा मतान्तर बढाउने र समस्या बल्झाउने कामले संस्था र समुदायको हित गर्न नसक्ने उनीहरुले बताएका छन् । यस्ता अवैधानिक गतिविधिलाई निरुत्साहित गर्दै आईसीसीको नेतृत्व र सचिवालयले समयमा नै कडा कदम नचालेमा विश्व भर नै यसको असर देखिने निश्चित भएको पनि उनीहरुको धारणा छ ।
आइसीसीसँग एनसीसीहरुको विश्वासिलो सम्बन्ध छ । एनसीसीहरुकै जगमा आइसीसी उभिएको तथ्यलाई भुल्न नहुने बताउदै एनसीसीहरु स्वतन्त्र, स्वायत्त र सम्बन्धित देशको विधि विधानको अधीनमा रहेका उनीहरुको धारणा छ ।
एकताको महाधिवेशन भनिएको संघको दशौँ महाधिवेशन सम्पन्न भएको एक महिना पनि पुरा नहुँदै महाधिवेशनको मर्म र भावना विपरीत निर्वाचित कार्य समिति भङ्ग गरिएको भन्ने अमेरिकाज क्षेत्रका केहि ब्यक्तिको नामबाट मार्च २४, २०२२ मा प्रकाशित विज्ञप्ति विधान विपरीत रहेको एनआरएनए अमेरिकाज क्षेत्रले जनाएको छ।
एनसीसी अमेरिका अमेरिकी कानुन अनुसार दर्ता भएको एक स्वायत्त संस्था भएकाले संस्था विरोधी यस्ता हर्कत नगर्न एनआरएनए अमेरिकाजले सबैलाई सचेत गराएको छ । यस्ता झुट्ठा प्रचार बाजीबाट भ्रममा नपर्न र अमेरिकास्थित नेपाली समुदायलाई विभाजित गरी आफ्नो निहित स्वार्थ पुरा गर्न चाहने व्यक्ति तथा प्रवृत्तिलाई पहिचान गर्न पनि एनआरएनए अमेरिकाज क्षेत्रका आरसी/डिआरसीले आफ्ना सबै सदस्यहरू तथा शुभेच्छुकहरुमा आग्रह गरेका छन ।