रुसले बेलायती प्रधानमन्त्री जोनसनसहित उच्च अधिकारीहरुलाई लगायो प्रतिबन्ध

रुसले बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अन्य उच्च बेलायती अधिकारीहरुलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ । युक्रेनमा भएको आक्रमणका लागि बेलायतले रुसमाथि प्रतिबन्ध लगाएपछि मस्कोले यो घोषणा गरेको हो ।

रुसको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “रसियालाई अन्तर्राष्ट्रिय रूपमा एक्लो पार्ने, रुसमाथि प्रतिबन्ध लगाउने र अर्थतन्त्रलाई नोक्सान पुर्‍याउने लन्डनको राजनीतिक अभियानको प्रतिक्रियास्वरूप यो कदम चालिएको हो ।”

बेलायती प्रधानमन्त्री जोन्सन बाहेक बेलायतका उपप्रधानमन्त्री डोमिनिक राब, विदेशमन्त्री लिज ट्रस, रक्षा सचिव बेन वालेस, पूर्व प्रधानमन्त्री थेरेसा मे र स्कटल्याण्डका प्रथम मन्त्री निकोला स्टर्जन रुस प्रवेशमा प्रतिबन्ध लगाइएको सूचीमा छन् ।

युक्रेनमा रुसले गरेको आक्रमणलाई लिएर रुसमाथि धेरै किसिमको प्रतिबन्ध लगाइएको छ । यसमा अमेरिका, बेलायतलगायत विश्वका धेरै देशले सामूहिक रूपमा रुसमाथि प्रतिबन्ध लगाएका छन् ।