कतार विश्वकपको समयमा बासिन्दाहरूलाई देश प्रवेशमा प्रतिबन्ध लगाउने अफवाहमात्रै

सुप्रिम कमिटी फर डिलिवरी एण्ड लिगेसी (एससी)का आधिकारिक प्रवक्ता खालेद अल-नामाले विश्वकपको समयमा त्यहाँका बासिन्दाहरूलाई देश प्रवेशमा प्रतिबन्ध लगाउने हल्ला सत्य नभएको बताएका छन् ।

कतारका संञ्चार माध्यमसँगको कुरामा उनले कतार विश्वकप २०२२ मा नागरिक वा बासिन्दाको प्रवेश र निकासमा कुनै असर नपर्ने बताए । प्रतियोगिताको क्रममा देशमा नागरिक र बासिन्दाको प्रवेशमा प्रतिबन्ध लगाइने प्रश्नलाई अल नामाले अफवाहको रूपमा अस्वीकार गरेका छन्।

जुलाई पछि यात्रा गरे स्वदेश फर्कन नसक्ने अफवाहहरू कतारका बासिन्दाहरू बीच आजकल धेरै फैलिरहेका छन् । विशेष गरी सम्बन्धित अधिकारीहरूले यसलाई अस्वीकार गर्न कुनै बयान जारी नगरेकालले बासिन्दाहरूका बीचमा चिन्ता पैदा गरेको थियो ।

विश्वकप आयोजना सम्पन्न गर्ने सन्दर्भमा उनले सुप्रिम कमिटी फर डिलिभरी एन्ड लिगेसी (एससी)को कार्यक्षेत्र विश्वकप स्टेडियम रहेको र त्यो पूर्णरुपमा सम्पन्न भइसकेको बताउँदै अघिल्ला खेलकुद अवसरहरूमा जस्तै कतारले यस प्रतियोगितामा पनि सर्वोकृष्ट प्रदर्शन गर्ने बताए ।

प्रतियोगिताका क्रममा सरकारी निकायमा हुने काममा अवरोध भएको भन्दै उनले कामलाई निरन्तरता दिनुपर्ने र कर्मचारीलाई आफ्नो कार्यस्थलमा पुग्न केही अप्ठ्यारो परेको देखेमा उपयुक्त समाधान निकाल्न सकिने बताए ।

२१ नोभेम्बरबाट शुरु भएर १८ डिसेम्बर २०२२ सम्म चल्ने फिफा विश्वकप कतारको आयोजनाको तयारी अन्तिम चरणमा पुगेको छ ।