अमेरिकी अभिनेता विल स्मिथले ओस्कार्स एकेडेमीबाट राजीनामा दिएका छन् । आइतबार आयोजित ओस्कर्स पुरस्कार वितरण समारोहमा हास्य कलाकार क्रिस रकलाई मञ्चमै थप्पड हानेपछि उनी विवादित बनेका थिए ।
‘म मेरो आचरणको सबै परिणामहरू पूर्ण रूपमा स्वीकार गर्नेछु । ९४औँ एकेडेमी अवार्ड प्रस्तुतिमा मेरो कार्यहरू स्तब्ध, पीडादायी र अक्षम्य थिए । मैले चोट पुर्याएकाहरूको सूची लामो छ र यसमा क्रिस, उनको परिवार, मेरा धेरै प्रिय साथीहरू र प्रियजनहरू, उपस्थित सबै र विश्वव्यापी दर्शकहरू समावेश छन्’ स्मिथले भनेका छन् ।
मञ्चबाट हास्य कलाकार क्रिसले अभिनेता स्मिथकी श्रीमती जाडा पिङ्केट स्मिथको ‘एलोपेसिया’ले गर्दा झरेको कपालको व्यंग्य गरेका थिए । श्रीमतीको शारीरिक स्थितिलाई लिएर व्यंग्य गरेपछि विलले मञ्चमै क्रिसलाई थप्पड हानेका थिए ।