कतारमा हुने विश्वकप फुटबलको ‘ड्र’ सार्वजनिक भएको छ ।
शुक्रबार सार्वजनिक ‘ड्र’ अनुसार कतार विश्वकप २०२२ को उद्घाटन खेलमा समूह ‘ए’ मा रहेका आयोजक कतार र इक्वेडर भिड्ने छन् । विश्वकपका लागि अहिलेसम्म आयोजकसहित २९ देशको टुंगो लागेको विश्व फुटबल महासंघ (फिफा) ले जनाएको छ ।
युरोपबाट जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इङल्याण्ड, स्वीटजरल्याण्ड, नेदरल्याण्डस्, पोर्चुगल, पोल्याण्ड,घाना, सेनेगल, ट्युनिसिया, मोरक्को, क्यामरुन, ब्राजिल, अर्जेन्टिना, उरुग्वे, इक्वेडर, क्यानडा, मेक्सिको, अमेरिका, इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र आयोजक कतार विश्वकपमा छनोट भएका छन् ।
विश्वकपमा ३२ देशले भाग लिनेछन् । ३ देशको भने टुंगो लाग्न बाँकी छ । ३ देश प्लेअफबाट छानिने छन् । जसअनुसार आगामी जुनामा स्कटल्याण्ड र युक्रेन प्लेअफको सेमिफाइनलमा भिड्ने छन् । जुनमै विजेताले प्लेअफको फाइनलमा वेल्सविरुद्ध खेल्नेछ । सो प्लेअफ फाइनलको विजेता विश्वकपमा छनोट हुनेछ ।
दक्षिण अमेरिकी देश पेरुले एसियाको युएई र अष्ट्रेलियाबीचको विजेतासँग इन्टर कान्टिनेन्टल प्लेअफ खेल्नेछ । उत्तर अमेरिकी क्षेत्रबाट कोष्टा रिकाले इन्टर कान्टिनेन्टल प्लेअफ खेल्नेछ । कोष्टारिकाले ओसियाना क्षेत्रको विजेता न्यूजील्याण्डसँग प्लेअफ खेल्नेछ ।
नोभेम्बर २१ बाट सुरु हुने विश्वकप डिसेम्बर १८ मा सकिनेछ ।