नेपालका लागि अमेरिकी राजदूतमा डिन टम्पसन प्रस्ताव

नेपालका लागि नयाँ राजदूतमा अमेरिकी राष्ट्रपति जो बाइडेनले डिन टम्पसनलाई नियुक्तीको प्रस्ताव गरेका छन् । उनलाई असाधारण र पूर्णाधिकारी राजदूत नियुक्ती प्रस्ताव गरिएको ह्वाइट हाउसले जनाएको छ ।

२५ वर्ष अमेरिकी परराष्ट्र सेवामा बिताएका थम्पसनले अहिले अमेरिकी विदेश मन्त्रालयमा दक्षिण तथा मध्य एसियाली मामिलामा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरीका रूपमा काम गरिरहेका छन् ।

टम्पसन मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासमा नियोग उपप्रमुख रहेका थिए । रोमानियास्थित अमेरिकी दूतावासमा पनि काम गरेका उनले कलकत्तामा अमेरिकी महावाणिज्यदूतका रूपमा काम गरेका थिए ।

अमेरिकी विदेश मन्त्रालयको सचिवालय, अपरेसन सेन्टरलगायत विभिन्न ठाउँमा काम गरेका उनले मेरिल्यान्ड स्कुल अफ पब्लिक अफेयर्सबाट सार्वजनिक व्यवस्थापनमा एमए गरेका छन् ।

नेसनल वार कलेजबाट राष्ट्रिय सुरक्षा रणनीतिमा एमएस गरेका थम्पसनले स्प्रींगफिल्ड ओहायोको विटेनबर्ग युनिभर्सिटीबाट बीए गरेका थिए । राष्ट्रपति बाइडेनले गरेको नियुक्ती प्रस्ताव संसदबाट अनुमोदन हुने बताइएको छ ।