विधायिकी बण्डमार्फत् दुईलाख ५० हजार अमेरिकी डलर मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बसोबास गरिरहेका नेपालीहरूको संस्था बाल्टिमोर एशोसियन्स अफ नेप्लिज इन अमेरिका (बाना)लाई सहयोग प्राप्त भएको छ।
सहयोगमध्ये एक लाख २५ हजार बाना बिल बण्डका रूपमा राज्यका तर्फबाट र एक लाख २५ हजार म्याचिङ फण्डका रूपमा बाल्टिमोर काउन्टीका तर्फबाट प्राप्त भएको हो। मेरिल्याण्ड राज्य संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले सन् २०१९ मा यसका लागि संसदमा बिल पेश गरेका थिए । सो बिल एक लाख २५ हजार म्याचिङ फण्ड प्राप्त भएपछि निकाशा हुने र ७ बर्षभित्र प्रयोग गर्नुपर्नेगरी स्वीकृत भएको थियो ।
सन् २०२०मा बाना बण्ड बिल पारित भएर राज्यबाट एक लाख २५ हजार निकासा भएको थियो । त्यसका लागि म्याचिङ फण्ड खोज्नुपर्ने प्रावधान रहेकाले त्यो रकम समयमा उपभोग भएको थिएन । तर, अब बाल्टिमोर काउन्टीले म्याचिङ फण्ड उपलव्ध गराइदिएकाले बानालाई दुई लाख ५० हजार रकम उपलव्ध भएको छ। बानाको सामुदायिक भवन दुई लाख ९८ हजारमा खरिद गरिएकाले अहिले पनि संस्था ऋणमा नै रहेको छ। यसको स्तरोन्नतिका लागि राज्य र काउन्टीले दुई लाख ५० हजार सहयोग प्रदान गरेको हो ।
अमेरिकामा पहिलोपटक कुनै पनि नेपाली सामुदायिक संस्थाले राज्यका तर्फबाट लाखौं डलर बजेट पाएको छ।