अर्थमन्त्री जनार्दन शर्माले बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा सदुपयोग गर्न आह्वान गरेका छन् ।
मंगलबार काठमाडौंमा गैरआवासीय नेपाली संघको १०औं विश्व सम्मेलन उद्घाटन गर्दै मन्त्री शर्माले बाहिरबाट सोचेजस्तो लगानी आउन नसकेको भन्दै बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा ल्याउन आह्वान गरेका हुन् । उनले मुलुकले एनआरएनएप्रति निकै ठूलो विश्वास राखेको धारणा राखे । मुलुकको विकासका लागि पनि एनआरएनएको ठूलो भूमिका भएको उनको भनाई छ । त्यस्तै अर्थमन्त्री शर्माले एनआरएनएका लागि नेपालमा बैंक खाता खोल्न सहज बनाइएको भन्दै सबैले १ हजार डलर राखेर बैंक खाता खोल्न आग्रह गरे ।
अर्थमन्त्री शर्माले मुलुकको पूर्वाधार क्षेत्रमा लगानी भित्राउन सरकार इच्छुक रहेको उल्लेख गरे । ग्रामिण अर्थतन्त्रको बिकास नभएसम्म मुलुकको व्यापार घाटा न्युनिकरण गर्न नसकिने उनको भनाइ छ ।