महिला हिंसा विरुद्ध आवाज उठाउन मंगलबारबाट काठमाडौंमा दक्षिण एसियाली सम्मेलन हुने

महिला हिंसा विरुद्धको आवाजलाई विश्वब्यापी रूपमा उठाउँदै हिंसा अन्त्यका लागि एक्येवद्धता जनाउन मंगलबारबाट काठमाडौंमा दुई दिने दक्षिण एसियाली सम्मेलन हुने भएको छ ।

वुमन एनजीओ फेडेरेसन, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग र एभ्री वुमन नामक संस्थाको संयुक्त आयोजनामा हुने उक्त सम्मेलनमा महिला हिंसाका विविध पाटोलाई उजागर गर्दै हिंसापीडितको न्यायमा पहुँच कसरी पुर्याउन सकिन्छ भन्नेमा जोड दिइने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । पत्रकार सम्मेलनमा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बालिका, किशोरी, अपांगता भएका महिला, यौनिक अल्पसंख्यक, सिमान्तकृतलगायतका समूदायका महिला बढी हिंसा प्रभावित हुने गरेको बताउनुभयो ।

सम्मेलनमा दक्षिण एसिया, अमेरिकालगायतबाट महिला अधिकारकर्मी, लेखक, मानवअधिकारकर्मी सहभागि हुने स्वाम नेपालकी अध्यक्ष निर्मला शर्माले जानकारी दिनुभयो ।

त्यसैगरि राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लीली थापाले महिला हिंसा मानव अधिकारको हनन् भएकाले यस्ता हिंसालाई अन्तराष्ट्रिय रुपमै कसरी सम्बोधन र न्युनिकरण गर्न सकिन्छ भन्ने विषय सम्मेलनमा उठाइने बताउनुभयो ।