राप्रपा निवर्तमान अध्यक्ष थापासँगको मनमुटाव चाँडै टुंगो लाउने लिङ्देनको दाबी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कसैको पनि असन्तुष्टि नरहेको दाबी गरेका छन् ।

आइतबार काठमाडौंमा पार्टीका २४ जना मनोनित पदाधिकारीलाई कार्यालयमा स्वागत गर्दै अध्यक्ष लिङ्देनले पार्टीलाई बलियो र एकताबद्ध बनाउँदै अघि बढ्ने भन्दै पार्टीभित्र कसैको पनि असन्तुष्टि नरहेको बताएका हुन् । उनले निवर्तमान अध्यक्ष कमल थापासँग धेरै विषयमा छलफल भएको र छलफलका क्रममा देखिएका केही विषयलाई चाँडै टुङ्गोमा पुराइने धारणा राखे । राप्रपाका कार्यकर्ता र शुभेच्छुकलाई निराश नबनाउने भन्दै उनले चाँडै सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।

अध्यक्ष लिङ्देनले उपाध्यक्ष, महामन्त्री, प्रवक्ता, सहायक प्रवक्ता, सहमहामन्त्री, सहायक महामन्त्री गरी २४ जनालाई मनोनित गरेका थिए ।