आज सरस्वती पूजा: देशका विभिन्न स्थानमा यसरी मनाइँदै

हरेक वर्ष माघ शुक्ल पञ्चमीको दिन गरिने सरस्वती पूजा अर्थात श्री पञ्चमी विधिपूर्वक मनाइएको छ ।

विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकार लगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गर्ने गरेका छन् । श्री पञ्चमीका अवसरमा काठमाडौंको स्वयम्भूको सरस्वती मन्दिरमा भक्तजनको भीड लागेको थियो । त्यस्तै यस दिन काठमाडांै लाजिम्पाटको नील सरस्वती, ललितपुरको लेलेमा रहेको सरस्वती कुण्ड एवम् देशभरका सरस्वती मन्दिरमा पूजा गर्ने भक्तजनको भीड लाग्छ ।

यस्तै, वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन सबैले प्रण गर्नुपर्नेमा जोड दिएकी छन् । उनले सर्वसुलभ, गुणस्तरीय र व्यावसायिक शिक्षाका माध्यमबाट प्रतिस्पर्धी जनशक्ति विकास गर्ने, शिक्षामा लगानी अनुसारको प्रतिफल निकाल्ने र नवप्रवर्तनका लागि युवा पुस्तासँग राज्यले हातेमालो गरेर अघि बढ्नुपर्ने ठूलो चुनौती रहेको बताएकी छन् । श्री पञ्चमीका दिन बालबालिकालाई विद्यारम्भ गराउँदा दिगो शिक्षा प्राप्त हुने जनविश्वास रहेको छ ।