न्यू योर्कका मेयर एरिक एडमले एनआरएनए नवराज केसीकी स्वर्गीय माता दिलकुमारी केसीको शोक सभामा भावुक मन्तव्य प्रस्तुत गरेका छन् ।
यही जनवरी ३० मा वुडसाइडमा दिलकुमारी केसीको सम्झनामा आयोजना गरिएको उक्त श्रद्धाञ्जली सभामा एडमले निकै गहकिला शब्दहरु बोल्दै आफ्ना मित्र नवराज केसीलाई सान्तवना प्रदान गरेका हुन् । न्यू योर्क सिटी काउन्सिलको चुनावमा उत्रने पहिलो नेपाली अमेरिकी नागरिक समेत रहेका केसी मेयर एडमका अत्यन्तै घनिष्ठ मित्र रहेको कुरा उनको वक्तव्यले समेत प्रष्ट्याएको थियो ।
आमाको शरीर यस संसारमा नरहेपनि नवराज जस्तो असल सन्तान जन्माएकोमा उनले पक्कै पनि गर्ववान्वित अनुभव गरेको कुरा एडमले बताए । स्वर्गीय माता केसीको तस्वीरका पुष्प अर्पण गर्दै एडमले सम्मान व्यक्त गरेका थिए ।
कार्यक्रममा श्याम कार्की, पुरुषोत्तम पन्थी, भुवनेश्वर अधिकारी लगायत अन्य व्यक्तित्वले पनि आफ्नो शोक मन्तव्य प्रस्तुत गरेका थिए ।