श्रममन्त्री कृष्ण कुमार श्रेष्ठले भिजिट भिसामा दुबई पुर्याएको भए नेपाल फर्काउन वा रोजगारीको व्यवस्था गर्न चेतावनी दिएका छन् ।
बिहीबार मन्त्रालयमा भिजिट भिसामा दुबई पुगेर दुख पाएका युवाहरुसँगको छलफलका क्रममा उनले भिजिट भिसामा कामका लागि दुबई पुर्याउनेलाई कुनै हालतमा नछाड्ने स्पष्ट पारे । उनले वैदेशिक रोजगारमा जाँदा भिजिट भिसाको प्रयोग नगर्न आग्रह समेत गरे । भिजिट भिसामा दुबई पुर्याउने गरेका विषयमा मन्त्रालय गम्भीर रहेको भन्दै उनले यसलाई नियन्त्रण र अनुसन्धान गर्न सरकार गम्भीर भएर लागेको बताए । ‘भिजिट भिसा’मार्फत् दुबईलगायत श्रम गन्तव्य मुलुकमा पुगेर पीडित भएकालाई सम्बोधन गर्न ‘मार्सल टिम’ गठन भएको उनले जानकारी दिए । उनले मन्त्रालयले आगामी आइतबारदेखि २४ घण्टै फोन उठ्ने गरी गुनासो सुनुवाइ कक्ष स्थापना गर्न लागेको बताए । दुख पाएका नेपालीहरुको गुनासोका आधारमा दलालहरुलाई कारवाही गर्ने उनले स्पष्ट पारे ।
त्यस्तै पीडित युवाहरुले आफूहरुले चर्को मूल्य तिरेर केही व्यक्तिमार्फत दुबई गएको र अलपत्र परेको गुनासो गरे । उनीहरुले आकर्षक तलबको बहानामा आफूहरुलाई झुक्काएको बताएका थिए ।
पछिल्लो एक वर्षमा मात्रै झन्डै ८० हजार नेपाली रोजगारी खोज्न भिजिट भिसामार्फत यूएई पुगेको अनुमान मन्त्रालयको छ ।