बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा जनशक्ति अभावका कारण हुने ढिलासुस्तीलाई अन्त्य गर्ने बताएका छन् ।
बिहीबार ललितपुरको एका न्तकुनास्थित यातायात कार्यालय अनुगमन गर्दै मन्त्री दाहालले यातायात कार्यालयमा दक्ष जनशक्तिको व्यवस्था गर्दै ढिलासुस्तीलाई अन्त्य गर्ने बताएका हुन् ।
अनुगमनका क्रममा सेवालाई चुस्तदुरुस्त बनाउन निर्देशन दिँदै उनले आवश्यक सुधारको प्रयास मन्त्रालयले गर्ने बताए ।
त्यस्तै उनले यातायातमा विचौलियालाई अन्त्य गर्दै सेटिङलाई पनि रोक्ने स्पष्ट पारे । विचौलियाले गर्दा कार्यालय नै बदनाम भएको भन्दै यसलाई रोक्न पनि निर्देशन दिइएको उनको भनाइ छ । उनले अहिले पनि कागजी झण्झट देखिएको भन्दै त्यसलाई अन्त्य गर्नका लागि देखिएको कानूनी जटिलता हटाइने दाबी गरे ।
अनुगमनका क्रममा मन्त्री दाहालले सेवाग्राहीसँग छलफल गर्दै देखिएका समस्याका बारेमा जानकारी लिएका थिए । सेवाग्राहीले घण्टौ लाईन बस्दा पनि सहज रुपमा सेवा नपाएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।