नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तीनै तहको निर्वाचन एकै पटक हुनुपर्ने बताएका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले मुलुकको खर्च जोगाउनका लागि भएपनि तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने बताएका हुन् । एकैपटक निर्वाचन गरे उम्मेदवारको पनि खर्च कम हुने उनले बताए । उनले संविधानलाई सर्वोपरी राखेर कानूनअनुरुप नै निर्वाचन हुनुपर्नेमा आफूहरुको जोड रहेको जिकिर गरे ।
अध्यक्ष नेपालले राष्ट्रियसभा निर्वाचनमा सबै सीट गठबन्धन दलले जित्ने दाबी पनि गरे । राष्ट्रियसभाको निर्वाचनको परिणामले तरंग पैदा गर्ने उनको भनाइ छ । त्यस्तै उनले केपी ओली अल्पमतमा पर्ने भएपछि संसद विघटन गरेको र त्यसपछि बाध्यताले प्रधानमन्त्री पद छोड्नु परेको जिकिर गरे । नेपालले केपी ओलीमा व्यक्तिवाद हावी भएको र पार्टीलाई गुटको आधारमा सञ्चालन गरेकाले आफूहरुले विद्रोह गर्नुपरेको बताए ।
उनले पछिल्लो समय समाजवादीमा प्रवेश गर्नेको लहर नै चलको बताए । कार्यक्रममा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई समाजवादी प्रवेश गराइएको थियो ।