राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको देखिएको छ ।
राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको विवरणानुसार प्रक्षेपित तीन करोडभन्दा करिब आठ लाख कम हुन पुगेको हो । यसअघि २०६८ को जनगणनामा दुई करोड ६४ लाख ९४ हजार ५०४ जनसङ्ख्या रहेको थियो ।
अघिल्लो जनगणनाको तुलनामा भक्तपुरको जनसङ्ख्या वृद्धिदर सबैभन्दा बढी र रामेछापको जनसङ्ख्या सबैभन्दा घट्दो दरमा रहेको पाइएको छ । २०६८ को जनगणनामा १ प्रतिशत भन्दा माथि जन्मदर रहेकोमा अहिले १ प्रतिशत भन्दा कम रहेको पाइएको विभागका निर्देशक ढुण्डिराज लामिछानेले जानकारी दिए । यसपटक महिला भन्दा पुरुषको जनसंख्या दुई लाखले बढेको उनले बताए । लामिछानेले सबैभन्दा विकट छाङरुङ र टिकंरमा पनि जनगणना गरिएको जानकारी दिए । आफूहरुले नेपालको नयाँ नक्सामा समावेश लिपुलेक, कालापानी र लिम्पियाधुरामा पनि अन्य विधिबाट गणना गरिएको उनले बताए ।
जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो । नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको हो ।