आर्थिक उन्नतिका लागि यी क्षेत्रमा लगानी गर्नुपर्ने अर्थमन्त्री शर्माको जिकिर

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आयात र व्यापारमा भन्दा पनि उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन निर्देशन दिएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको ५७ औं वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा भर्चूअल रुपमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले उत्पादनमुलक क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी बढाउनुपर्नेमा जोड दिएका हुन् । उनले बैंकलाई कृषि क्षेत्रमा कम्तीमा दुई गुणा लगानी बढाउन आग्रह पनि गरे । उनले सरकारको नीति पनि उत्पादनमुखी क्षेत्रको लगानीमा केन्द्रित रहेको भन्दै लगानी त्यसमा लगानी बढाउन आग्रह गरेका हुन् मन्त्री शर्माले आत्मनिर्भर हुनका लागि लगानी अति आवश्यक रहेको बताउँदै बैंकले वैदेशिक ऋण भित्र्याउन गरिरहेको प्रयासमा सरकारले सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले राष्ट्रिय वाणिज्य बैंक सरकारी वित्तीय संस्था भएकाले यसले मोडेलको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रममा बैंकले सुरु गरेको ‘अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा’ (युएसएसडी) प्रणालीको समेत सुरुवात गर्दै मन्त्री शर्माले यसले इन्टरनेट नभएको स्थानमा पनि मोबाइल बैंकिङको लाभ ग्राहकले लिनसक्नेमा विश्वास व्यक्त गरे । बैंकको वार्षिकोत्सवका अवसरमा मन्त्री शर्माले ‘उपहार’ पुस्तकको लोकार्पण समेत गरेका थिए । बैंक २०२२ साल माघ १० गते स्थापना भएको थियो । हाल यसले देशभरका २५८ शाखाबाट सेवा प्रदान गर्दै आइरहेको छ ।