प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता तथा बाग्मती प्रदेशका सांसद रामेश्वर फुयाँलले तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले आगामी २०७९ जेठ ६ गते बिहान १० बजे नै स्थानीय तहको कुर्सीमा निर्वाचित जनप्रतिनिधिहरुले शासन गर्न पाउने व्यवस्था गर्न पाउनुपर्नेमा जोड दिए । नेता फुयाँलले संविधानले देशमा अनिर्वाचित सत्ताको परिकल्पना नगरेको स्पष्ट पारे । २०७४ मा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको स्मरण गराउँदै अब पहिलो चरणको निर्वाचनलाई कानूनी मान्यता दिने भनिएको पनि दाबी गरे ।
साक्षात्कारमा राष्ट्रियसभाका सदस्य डा. खिमलाल देवकाटाले स्थानीय तहको निर्वाचन समयमै गर्ने सवालमा कोही पनि विपक्षमा नरहेको स्पष्ट पारे । तर उनले तीनै तहको निर्वाचन एकै चरणमा गर्न सकिने बताए । उनले संविधानतः स्थानीय तहको निर्वाचनलाई पछि लान नमिल्ने भन्दै गठबन्धन दलले चुनाव नसार्ने जिकिर समेत गरे ।
वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र महतोले निर्वाचन भनेको लोकतन्त्रको मेरुदण्ड भएको भन्दै समयमै स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड दिए । महतोले मुलुकभर ७६१ सभा/सरकार रहेको उल्लेख गर्दै यी सरकारबीच अन्तरसम्बन्ध भएपनि सबै स्वायत्त रहेको धारणा राखे ।
वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले निर्वाचन नागरिकतन्त्रको ‘कोर–भ्याल्यु’ भएकोले संविधानमा लेखिएको कुरा लागू हुने बताए । उनले स्थानीय तहको निर्वाचन समयावधि सकिएको ६ महिनाभित्र गर्नु भनेर संविधानले नै भनेकोले यसबाट दायाँबायाँ गर्न नमिल्ने स्पष्ट पारे । अर्का अधिवक्ता डा.दिनेश त्रिपाठीले एउटै मितिमा तीनै तहको निर्वाचनको गर्न नमिल्ने बताए ।