नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको भावना र मर्म अनुसार सबै तहको निर्वाचन हुनुपर्ने बताएका छन् ।
डा मिता सिंहद्वारा लिखित गणेशमान सिंहको संघर्ष विषयको पुस्तक विमोचनपछि आफ्नै निवास चाक्सीबारीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले संविधानको व्यवस्था अनुसार नै स्थानीय तह लगायत अन्य तहको निर्वाचन हुनुपर्ने बताएका हुन् । उनले निर्वाचनलाई पर ढकेलेर स्थानीय तहलाई पदाधिकारीबिहीन बनाउन नहुने धारणा पनि राखे ।
फरक प्रसंगमा नेता सिंहले महाधिवेशनपछिको परिणामलाई लिएर पार्टीभित्रका नेताहरुलाई लखेट्ने काम बन्द हुनुपर्ने धारणा राखे । उनले आगामी दिनमा पार्टीलाई सशक्त बनाउनका लागि पार्टी महाधिवेशनको निर्णयलाई स्वीकार गर्दै एकतावद्ध रुपमा अघि बढ्नुको विकल्प नभएको बताए ।
नेता सिंहले प्रधानमन्त्रीले आफूलाई सरकारमा सहभागी गराउन कुनै प्रस्ताव नआएको भन्दै हल्लाका पछि नलाग्न सुझाव दिए । पार्टीलाई विधिसम्वत लैजान आफूले महाधिवेशनमा सभापति देउवालाई समर्थन गरेको र यसलाई बार्गेनिङ्को रुपमा नबुझ्न पनि आग्रह गरे ।
त्यसअघि पुस्तक विमोचनमा नेता सिंहले नेपालको परिवर्तनमा गणेशमान सिंहले खेलेको भूमिकाको चर्चा गरेका थिए ।