कोरोना रोकथामका लागि ट्राफिक प्रहरीद्वारा नयाँ अभियानको सुरुवात

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक बसका चालक, सहचालक र यात्रुलाई लक्षित गरी ‘अनिवार्य मास्कको प्रयोग गरौँ’ अभियानको सुरुवात गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा बिहीबारदेखि न्यूरोड गेटबाट ‘अनिवार्य मास्कको प्रयोग गरौँ’ अभियान सुरुवात गरेको हो । अभियानको सुरुवात महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक सवारीसाधनमा जनचेतनामूलक पर्चा टाँसेर गरेका हुन् । सुरुको चरणमा १५ हजार सार्वजनिक सवारीसाधनमा जनचेतनामूलक अभियान सञ्चालन गर्ने महाशाखाले जनाएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौलाले तेस्रो चरणको कोरोना संक्रमणका कारण यातायात मजदुर तथा यात्रुलाई थप क्षति नपुगोस् भन्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरेको जानकारी दिए ।