प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएशनले बिहीबारदेखि आन्दोलनको स्वरुप फेरेको छ ।
कोरोना महामारी बढेपछि बारले बिहीबारदेखि भर्चूअल माध्यमबाट अन्तरक्रिया गरी आन्दोलनलाई निरन्तरता दिएको हो । न्यायपालिकाको गरिमा कायम राख, विवादित प्रधानन्यायाधीश राजीनामा गर भन्दै बारले भर्चूअल रुपमा आन्दोलन गरेको हो ।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा भौतिक रूपमै धर्ना र विरोधका कार्यक्रम गर्दै कोरोनाका कारण भर्चूअल माध्यमबाट भएपनि आन्दोलनलाई जारी राखिएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । कोरोनाका कारण कानून व्यवसायी र सेवाग्राहीहरु समस्यामा परेको र श्रेष्ठले अझै पनि राजीनामा नदिएको भन्दै ९० वटा बार इकाइहरुसँग छलफल सुरु गरिएको बताए । यसबीचमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सक्रिय भइ थप भूमिका लिन खोजे भौतिक रूपमै विरोध कार्यक्रम गर्ने उनले बताए ।
न्यायपालिकालाई स्वतन्त्र र नियमित रुपमा सञ्चालन गर्न प्रधानन्यायाधीशको राजीनामा अन्तिम विकल्प बनेको भन्दै आन्दोलनलाई निरन्तर जारी राख्नुको विकल्प नभएको बारको भनाइ छ ।