स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तत्काल लकडाउन नगर्ने पक्षमा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तत्काल लकडाउन नै गर्ने पक्षमा नभएको जनाएको छ ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्रालयका सचिव डा रोशन पोखरेलले मन्त्रालय लकडाउनको विरुद्धमा रहेको बताए । देशमा बल्लबल्ल अलिअलि उकालो लागेको अर्थतन्त्र फेरि नबिग्रियोस् भन्नेमा मन्त्रालय प्रष्ट रहेको उनले बताए । १८ वर्षमुनिका बालबालिकाका लागि खोप सञ्चालन गरिरहे पनि विद्यालय बन्द भएकाले व्यवस्थापन केही असहज भएको सचिव पोखरेलको भनाइ छ । केही समय पहिले शीतलहरका कारण तराईमा लगाउन नसकिएको खोप ल्याएर भक्तपुरमा लगाइएको उनले जानकारी दिए । अहिले खोप केन्द्रमा भइरहेको भीड व्यवस्थापनमा अरु निकायले पनि ध्यान दिनुपर्ने उनले बताए ।

बैठकमा सांसदहरुले सरकारले छिटोभन्दा छिटो सबैलाई खोप लगाउनुपर्नेमा जोड दिएका थिए । सांसद योगेश भट्टराईले दैनिक पाँच लाख खोप लगाउने भने पनि दैनिक डेढ लाखभन्दा बढीलाई खोप दिन नसिकएको बताए । सांसद चित्रलेखा यादवले ग्रामीण क्षेत्रका नागरिकमा अझै पनि कोभिडबारे जानकारी नभएकाले स्वास्थ्यका सामान्य मापदण्डसमेत पालना नगरेको बताए ।

बैठकले सबै नागरिकलाई छिटोभन्दा छिटो कोभिडविरुद्धको खोपको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।