नेपाल सरकारले ठूलो मानवीय संकटको सामना गरिरहेको अफगानिस्तानलाई सहयोग सामग्री पठाएको छ ।
आइतबार परराष्ट्र मन्त्रालयको नेतृत्वमा मानवीय सहायता सामग्रीसहितको हिमालयन एयरलाइन्सको जहाज काबुल पठाएको परराष्ट्र मन्त्रालयले जनाएको हो । काबुल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले सहायता सामाग्री मन्त्रालयकी सहसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरुलाई हस्तान्तरण गर्ने जानकारी दिए ।
मन्त्री खड्काका अनुसार संयुक्त राष्ट्रसंघले उपलब्ध गराएको सूचीअनुसार सहायता सामाग्रीमा औषधि, लत्ता कपडा र घरायसी सामाग्री भाँडाकुँडासहित १४ टनको सामाग्री लिएर नेपाली टोली जहाजमा अफगानिस्तानको काबुल गएको हो । उनले नेपालको इतिहासमा पहिलो पटक आफ्नै प्रयासमा सरकारलाई कुनै दायित्व नपर्ने गरी सबै सामाग्रीहरु व्यवसायीहरुले निःशुल्क रुपमा उपलब्ध गराएको जानकारी दिए ।
गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा विश्वकै सबैभन्दा ठूलो मानवीय संकट उत्पन्न भएको छ । तालिबान सत्तामा आएसँगै अन्तर्राष्ट्रिय सहयोग रोकिएकाले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएको हो ।