नेपाल सरकारले मिथिला कलामा आधारित १७ वटा हुलाक टिकट जारी गरेको छ ।
नेपाल सरकारले नयाँ वर्ष २०२२ को शुरुवातमा सन् २०३० सम्ममा दिगो विकास लक्ष्यहरू हासिल गर्ने उद्देश्यले मिथिला चित्रकलाहरूको सराहनास्वरुप पहिलो पटक १७ वटा हुलाक टिकट जारी गरेको हो ।
मिथिला सेन्टर, संयुक्त राज्य अमेरिकाले टिकटको तस्वीर सार्वजनिक गर्दै उक्त जानकारी साझा गरेको छ ।
संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी मिसन र मिथिला सेन्टर, अमेरिकाको सहकार्यमा संयुक्त राज्य अमेरिकामा पहिलो पटक मिथिला महोत्सव आयोजना गरिएको थियो जसमा सो चित्रहरू दिगो विकास लक्ष्यका लागि चित्रकला, मिथिला सम्पदा प्रदर्शनी विषयक प्रदर्शनीमा राखिएको थियो। कार्यक्रम संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा ८ देखि १२ अप्रिलसम्म जम्मा ५ दिनसम्म जारी रह्यो ।
प्रदर्शनमा राखिएका चित्रहरु नेपालमा संयुक्त राष्ट्रसंघीय प्रणाली र जनकपुर महिला विकास केन्द्रबीचको सहकार्यमा सन् २०१८ मा जनकपुरधामका लोकप्रिय मिथिला महिला कलाकारहरूले सिर्जना गरेका हुन्। मिथिला कला र संस्कृतिको प्रवर्द्धन र संरक्षणमा समर्पित अमेरिकास्थित मिथिला केन्द्रले नेपाल सरकार र संयुक्त राष्ट्र संघको सहयोगप्रति कृतज्ञतासमेत ज्ञापन गरेको छ ।
उक्त मिथिला चित्रहरू प्रदर्शनीका लागि काठमाडौंबाट न्यूयोर्क लग्ने र प्रदर्शनीपछि नेपाल फिर्ता ल्याउने भूमिका भने संयुक्त राष्ट्रका सेवानिवृत्त श्री नवल यादवले निर्वाह गरेका थिए ।