भारतमा कोभिड १९ को तेस्रो लहर सुरु भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ५९ हजार ६३२ जना नयाँ संक्रमित थपिनुले छिमेकी मुलुक भारतमा कोभिड(१९ का संक्रमित अचानक बढ्न थालेको संकेत दिएको हो ।
त्यस्तै, भारतीय समाचार माध्यमका अनुसार सो अवधिमा ४० हजार ८६३ जना संक्रमण मुक्त भएका छन् भने ३२७ जनाको मृत्यु भएको छ ।
आइतबारसम्म कोभिड(१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या ३ हजार ६२३ पुगेको छ । हालसम्म २७ राज्यमा यो भेरियन्ट फैलिइसकेको छ ।
महाराष्ट्रमा ओमिक्रोनका संक्रमित सबैभन्दा धेरै छन् भने दोस्रो स्थानमा रहेको दिल्लीमा ५१३ जनामा हालसम्म ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।
हाल भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख ९० हजार ६११ रहेको छ । संक्रमितको संख्या एक्कासि बढ्न थालेपछि भारतका कैयौं राज्यमा कडाइ गरिएको छ । दिल्ली र कर्नाटकमा हप्तामा २ दिन (शनिबार र आइतबार) कर्फ्यू लागू गरिएको छ भने आजदेखि तमिलनाडुमा आइतबार पूर्ण कर्फ्यू लगाइएको छ ।