मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक क्रान्तिलाई तीव्रता दिनुपर्ने नेपालको भनाइ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक क्रान्तिको अभियानलाई तीव्रता दिनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल बुद्धिजीवि परिषद् (समाजवादी)को राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले मुलुकमा राजनीतिक क्रान्तिको एउटा क्रम पूरा भइसकेको भन्दै मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक क्रान्तिको अभियानलाई तीव्रता दिनुपर्ने बताएका हुन् ।

उनले आर्थिक रुपान्तरणले नै मुलुकको विकास हुने भन्दै यसलाई ध्यान दिनुपर्ने बताए । नेपालले विभिन्न आयोजनालाई व्यवहारिक र यथार्थवादी बनाउन निरन्तर अनुगमन गर्नुपर्ने धारणा राखे । समयमा नै आयोजनाहरु सम्पन्न नहँुदा लागत बढ्ने भएकाले गुणस्तरीय र समयमा नै आयोजना सम्पन्न हुने सुनिश्चित हुनुपर्ने उनको भनाइ छ ।

त्यस्तै अध्यक्ष नेपालले गलत सोचलाई त्याग्दै मुलुक अघि बढाउन सबै गम्भीर हुनुपर्ने र जनताप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गरे ।