नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा निर्वाचन अघि नै एमाले अध्यक्ष केपी ओलीले पराजय स्वीकार गरिसकेको बताएका छन् ।
नेकपा एकीकृत समाजवादीको काठमाडौं महानगर कमिटीले शुक्रबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रिय सभाको निर्वाचनमा पराजय निश्चित छ भनेर ओलीले हार स्वीकार गरेको भन्दै आफूलाई अचम्म लागेको पनि बताए ।
उनले एकैदिन ७७ वटै जिल्लामा अधिवेशन उदघाटन गर्ने एमालेको परिपाटीले नेतृत्व स्थापित नहुने उल्लेख गरे । अध्यक्ष नेपालले एमालेभित्र कुनै नीति पद्धति नरहको भन्दै नेताको देवत्वकरण गर्ने, देउता जस्तो मान्ने प्रवृत्ति हावी भएको जिकिर गरे । उनले एमालेमा रहेका मानिस बौद्धिकताको विकास गर्ने आधुनिक ज्ञान र चेतना हासिल गर्ने व्यक्ति नभई पूजक र हनुमान प्रवृतिका मानिसमात्र रहेको बताए । केपी ओलीबाट नेकपा एमाले पार्टी नबन्ने र नचल्ने उनको भनाइ छ । उनले अहिले ओलीले गठबन्धनलाई भाँड्न खोजेको आरोप पनि लगाए । फरक प्रसंगमा अध्यक्ष नेपालले यसअघि नारायणहिटीमा कुनै पसल नगर्न आफूले सुझाव दिएपनि एमाले नेतृत्वको सरकारले व्यापारीलाई रेष्टुरेन्ट खोल्न दिएर भ्रष्टाचारलाई प्रोत्साहन दिने काम गरेको बताए ।
अध्यक्ष नेपालले अहिले आफ्नो पार्टीप्रति आकर्षण बढेको भन्दै पार्टीलाई विधिसंवत् ढंगले सञ्चालन गर्ने धारणा राखे । कार्यक्रममा सो पार्टीको काठमाडौं महानगर कमिटी अन्तर्गतको युवा संघ नेपाल, अनेम संघ समाजवादी, नेपाल खेलकुद महासंघ समाजवादी र राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको घोषणा तथा सपथग्रहण गराइएको थियो ।