केटीएम रन प्रतियोगिता माघ १५ गते आयोजना हुँदै, विजेतालाई आकर्षक पुरस्कार प्रदान गरिने

पहिलो संस्करणको केटीएम रन प्रतियोगिता माघको तेस्रो साता आयोजना हुने भएको छ ।

आयोजक शेर्पा आउटडोरको केटीएम सिटीले शुक्रबार पत्रकार सम्मेलन गर्दै केटीएम रन माघ १५ गते आयोजना हुने जानकारी गराएको हो । शनिबारको दिन आयोजना हुने केटीएम रन १० किलोमिटरको हुने आयोजक केटीएम सिटीले जनाएको छ । केटीएम रन पुरुष र महिला गरी दुई स्पर्धामा आयोजना हुनेछ । प्रतियोगिताको पुरस्कार पुरुष तथा महिलामा समान राशी रहेको छ । केटीएम रनको विजेताले ट्रफी सहित समान १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यो पुरस्कार १० किलोमिटर स्पर्धामा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको हो ।

त्यस्तै, दोस्रो हुने दुवै स्पर्धाका खेलाडीले समान ५० हजार, तेस्रोले ३० हजार, चौथो हुनेले २० हजार, पाँचौं हुनेले १० हजार, छैटौं हुनेले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सातौंदेखि दशौं स्थान प्राप्त गर्ने खेलाडीलाई गिफ्ट भौचर प्रदान गरिने केटीएम रनको रेस डिरेक्टरमा सुशील नरसिंह राणाले जानकारी दिए । एथलेटिक्को बेस बनाउनका लागि १० किलो मिटरको रन आयोजना गरिएको उनले बताए ।

केटीएम रनको रुट काठमाडौंको दरबारमार्गबाट सुरु भएर भद्रकाली हुँदै सिंहदरबार, माईतिघर, बानेश्वर पुगेर पुन माईतिघर फर्किएर, थापाथली हुँदै त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, रत्नपार्क, जमल भएर दरबारमार्ग आएरै समापन हुनेछ । केटीएम रनमा सहभागी हुने खेलाडीका लागि ९ सय ९० रुपैयाँ दर्ता शुल्क राखिएको छ । सहभागी खेलाडीलाई आयोजकले टिसर्ट सहितका सामाग्री उपलब्ध गराउने बताइएको छ ।