संसदलाई बिनाअवरोध सञ्चालन गर्न सरकारको यस्तो निर्णय

सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिले संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको समिति बैठकले संसद लामो समय अवरुद्ध हुनु उचित नभएको भन्दै संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय भएको सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । संसदलाई बिनाअवरोध सञ्चालन गर्न सरकारको जतिकै प्रतिपक्षीको पनि कर्तव्य भएकोले सबै गम्भीर हुनुपर्ने उनले बताए । त्यस्तै बैठकले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई जिताउन सातवटै प्रदेशमा गठन गरिएको संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय भएको उनले बताए । माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनमा केन्द्रीत भएर बैठकमा छलफल भएको कार्कीले जानकारी दिए ।

पाँच दलीय सत्ता गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँड भइसकेको छ । गठबन्धनले कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५–५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई एक सिट छुट्याउँदै उम्मेद्वारी समेत दर्ता गरिसकेको छ । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ ।