कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले मल तथा खाद्य समस्या समाधान हुने बताएका छन् ।
बिहीबार रिपोर्टर्स क्लबले काठमाडौंमा गरेको साक्षात्कारमा उनले भारतसँग जिटुजीमार्फत् मल खरिदको सम्झौता हुने समेत जानकारी दिए । अहिले नेपाल सरकारसँग रहेको १२ हजार मेट्रिक टन युरिया र डिएपी मिलाएर किसानलाई वितरण गरिने बताए । उनले मल उत्पादनको लागि नेपालमा नै कारखाना र फ्याक्ट्री लगाउनको लागि लगानी बोर्डमा प्रस्ताव दर्ता भएको जानकारी दिए । अहिले नेपालमा विद्युतमा आधारित मल कारखाना निर्माणको कुरा भइरहेको उनले बताए ।
मन्त्री यादवले मलको समस्या समाधानको लागि जिटुजीमार्फत् खरिद गरिने पनि जानकारी दिए ।
त्यस्तै, मल व्यवस्थापनको सम्बन्धमा प्रदेश सरकारलाई पनि केन्द्रबाट कार्यविधि बनाएर पठाएको यादवले बताए । उनले मुलुकका केही स्थानमा देखिएको किसानका समस्या समाधान गर्ने दाबी समेत गरे । त्यस्तै, उनले उखुको मूल्य ५९० रुपैयाँ दिने भनेर निर्धारण गरिएको बताए ।