नेपालगञ्जकी निर्मला कुर्मीको न्यायका लागि माइतीघर मण्डलामा विगत ४१ दिनदेखि धर्ना जारी छ ।
महिला अधिकार मञ्च बाँकेको अगुवाइमा माइतीघर मण्डलामा अधिकारकर्मी रुबी खानलगायत पीडितका आफन्त धर्नासहित रिले अनशनमा बसेका हुन् । पीडितले न्याय नपाएसम्म अनिश्चितकालीन धर्नामा बस्ने उनीहरूले बताएका छन् । उनीहरूले निर्मला र नकुन्नी धोबी हत्या प्रकरण छानबिन समितिले पेश गरेको प्रतिवेदन सार्वजनिक गर्न तथा निर्मला कुर्मीको घटनामा सुरुदेखि अनुसन्धान गर्न माग गरेका छन् ।
यस्तै बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपानेले अभियुक्तलाई संरक्षण गरेको भन्दै उनीहरूलाई अविलम्ब विभागीय कारवाही गर्न पनि पीडित पक्षले माग गरेका छन् । अधिकारकर्मी खानले यसअघि आफूहरुलाई सरकारले आश्वासन मात्र दिएको र निष्पक्ष छानविन नभएकाले धर्नामा बसेको जानकारी दिइन् ।
यसअघि धर्नामा गृह मन्त्रालयको टोली पुगेपनि अधिकारकर्मीको अवस्था बुझ्न मात्र गएको बताएको थियो । बेपत्ता पारिएकी निर्मलाको न्यायको माग गर्दै विगत लामो समयदेखि आन्दोलन भइरहेको छ ।