नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध निर्वाचित भएका छन् ।
सोमबार ललितपुरमा बसेको आठौं महाधिवेशनबाट चुनिएको २३६ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्षमा चयन गरेको हो । बैठकमा केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठले प्रचण्डलाई अध्यक्षमा प्रस्ताव गरेका थिए भने केन्द्रीय सदस्य कृष्णबहादुर महराले समर्थन गरेका थिए । अध्यक्षमा निर्वाचित भएपछि प्रचण्ड आफूले महत्वपूर्ण अवस्थामा पार्टीको नेतृत्व गर्ने अवसर पाएको बताए । उनले महाधिवेशनमा अपनाएको शैली र विधि पूरै जनवादी र लोकतान्त्रिक भएको दाबी समेत गरे । केही सञ्चारमाध्यमले महाधिवेशनको प्रक्रियामाथि अपमान गर्न खोजेको गुनासो गर्दै पार्टीको महाधिवेशनले क्रमभंग गरेको दाबी उनले गरे । आफू अब पार्टी अध्यक्षबाट अलग हुनुपर्ने भन्ने लागेपनि मुलुकको आवश्यकताका लागि आफू पुन अध्यक्षमा बसेको उनले बताए ।
निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले पदाधिकारी भने चयन गरेन । अध्यक्ष प्रचण्डले उपचारपछि वर्षमान पुन र ओनसरी घर्ति नेपाल आउने भएकाले उनीहरुलाई पनि समेटेर पदाधिकारी चयनका लागि २५ गतेका लागि बैठक सारिएको जानकारी दिए ।
त्यस्तै माओवादी नेता कृष्ण बहादुर महराले तयारी नपुगेका कारण गृहकार्य गर्न केही दिन केन्द्रीय कमिटीको बैठक सारिएको जानकारी दिए ।
समितिको पुस २५ गते अर्को बैठक बस्ने र त्यसअघि छलफल गरेर पदाधिकारी, स्थायी समिति, पोलिट्ब्यूरो समितिका सदस्यहरु पनि टुंगो लगाउने माओवादीले जनाएको छ । सोमबार नवनिर्वाचित केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको सपथ पनि लिएका थिए ।
ी