आफ्नालाई काखा, अरुलाई पाखा लाउँदै देउवा, केन्द्रीय सदस्य मनोनयनमा पक्षपाती निर्णय

कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार कल्याण गुरुङ, प्रदीप पौडेल र जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । सभापतिका उम्मेदवार गुरुङले दोस्रो चरणको मतदानमा देउवालाई समर्थन गरेका थिए भने पौडेल र शाही देउवाकै प्यानलबाट क्रमशः महामन्त्री र सहमहामन्त्री पदमा उम्मेदवार थिए ।

योसँगै देउवाले आफूलाई मत दिने अथवा आफ्ना पक्षका नेताहरुलाई मात्र केन्द्रीय सदस्यमा चुनेको आरोप लाग्न थालेको छ । १४औं महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएपछि देउवाले आफूलाई भोट हाल्ने नहाल्ने सबैको सभापति भएको र सबैलाई लिएर अघि बढ्ने प्रतिबद्धता गरेको भएपनि अहिले उनले आफ्नै बोली राख्न नसकेको टिप्पणी हुन थालेको छ ।

यसअघि शनिबार १० जना केन्द्रीय सदस्य मनोनित भएकामा रामचन्द्र पौडेलले महाधिवेशन प्रक्रियामा भाग नै लिएका थिएनन् भने कृष्णप्रसाद सिटौलाले देउवालाई समर्थन गर्दै उम्मेदवारी नै दिएका थिएनन् । त्यस्तै सभापतिका उम्मेदवार प्रकाशमान सिंह र विमलेन्द्र निधि, उपसभापतिका उम्मेदवार सुजाता कोइरालाले भने दोस्रो चरणमा देउवालाई समर्थन गरेका थिए । त्यस्तै, विजयकुमार गच्छदार र डा प्रकाशशरण महत पनि उनकै समूहबाट क्रमशः उपसभापति र महामन्त्री पदमा चुनावी मैदानमा उत्रिएका थिए । केन्द्रीय सदस्यमा चुनिएका अन्य नेताहरु नारायण खड्का, उमा रेग्मी र मीनबहादुर विश्वकर्मा सबै देउवाको पक्षमा थिए ।