नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महाधिवेशनमा आफूले सारेका एजेण्डा स्थापित हुने दाबी गरेका छन् ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कांग्रेस क्षेत्र नं १ ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पार्टी रुपान्तरणका लागि आफूले अघि सारेका एजेण्डा स्थापित हुने बताएका हुन् ।
कांग्रेस सभापतिको दोश्रो चरणको निर्वाचनमा पार्टी सभापति शेर बहादुर देउवाले आफ्नो एजेण्डलाई पूरा गर्ने प्रतिबद्धता जनाएकाले आफूले समर्थन गरेको भन्दै उनले यस विषयमा आएका आलोचनालाई आफूले सहज रुपमा स्वीकार गर्ने धारणा राखे ।
उनले सभापति देउवासँग पार्टी हितविपरितको कुनै सम्झौता नगरेको स्पष्ट पारे । महाधिवेशन अघि आफूलाई सभापतिको उम्मेदवार बनाउने विषयमा सहमति हुन नसकेकैका कारण निर्वाचनमा आफूमाथि घात भएको गुनासो उनले गरे ।
त्यस्तै कार्यक्रमका सहभागीहरुले पार्टीलाई एकताबद्ध बनाएर अघि लैजानुपर्ने धारणा राखेका थिए ।