सरकारले निर्वाचन आयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को यही पुस १४ गते बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न पनि सैद्धान्तिक स्वीकृति प्रदान गरिएको जानकारी दिए । त्यस्तै सुर्खेत जिल्लाको साविकका लेखफर्सा, काफलकोट र लेखपराजुल गाविसको जग्गा प्रशासनसम्बन्धी काम मालपोत तथा नापी कार्यालय, मेहलकुना, सुर्खेतलाई हस्तान्तरण गरी सेवा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरिएको उनले बताए ।
बैठकले नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा यही पुस १८ देखि ३० गतेसम्म घर बिदामा रहने भएकाले बलाधिकृत रथी बालकृष्ण कार्कीलाई नेपाली सेनाको कायममुकायम भई प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने पनि निर्णय गरेको छ । मन्त्री कार्कीका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका नेपाल कृषि सेवाका वरिष्ठ माटोविज्ञ डा गङ्गादत्त आचार्यलाई सार्क कृषि केन्द्र ढाकामा वरिष्ठ कार्यक्रम विज्ञ पदमा काम गर्न काजमा खटाउने निर्णय भएको छ । यस्तै बैठकले टाक्टोर–लामाजुरा सडकखण्डको ट्रयाक खोल्न सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–२ मा रहेको राष्ट्रिय वन क्षेत्रभित्रका २.५७ हेक्टर वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।
मन्त्रिपरिषद्को बैठकले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्ट्रनसीप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । आदिकवि भानुजन्मस्थल विकास समितिको अध्यक्ष पदमा तनहुँ जिल्ला भानु–४, का ऋषिराम पन्त र कार्यकारी निर्देशकको पदमा सोही ठाउँका शङ्कर रानाभाटलाई नियुक्त गर्ने निर्णय गरेको कार्कीले जानकारी दिए ।