ऋण खोजेर भलिबल खेल्न ढाका पुगेको नेपाली महिला टोली बन्यो विजयी

बंगलादेशको राजधानी ढाकामा भएको एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप विजेता नेपाली महिला टिम स्वदेश फर्किएको छ ।

खेलाडीलाई स्वागत गर्न खेलकुद मन्त्री महेश्वर जंग गहतराजका साथै भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, उपाध्यक्ष निरोज मास्के र रञ्जन खड्का, केन्द्रीय सदस्य रोशन श्रेष्ठ लगायत पदाधिकारी विमानस्थल पुगेका थिए । फाइनलमा उज्वेकिस्तानलाई पराजित गर्दै लगातार दोस्रो संस्करणमा उपाधि जितेको नेपाली टिमलाई मन्त्री गहतराजले माला लगाइदिएका थिए ।

स्वागत कार्यक्रममा मन्त्री गहतराजले नेपालका महिला र पुरुष भलिबल टिमले आउँदो एशियन गेम्समा सहभागिता जनाउने घोषणा गरे । अहिले ऋण खोजेर ढाका प्रस्थान गरेको नेपाली टिमलाई आउने एसियन गेम्समा भने सरकारले आफ्नै खर्चमा पठाउने मन्त्री गहतराजले बताए । उनले नेपालको राष्ट्रिय खेल भएका बावजुत भलिबल पूर्वाधारमा पछि रहेको उल्लेख गर्दै भलिबल संघको आफ्नै अफिस र कभर्ड हल रंगशाला परिसरमै निर्माण गर्ने प्रतिबद्धता पनि जनाए । उनले एसियन सेन्ट्रल जोन विजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने निर्णय भएको जानकारी समेत दिए ।

त्यस्तै टीम कप्तान अरुणा शाहीले अभ्यासका लागि आफ्नै हलको व्यवस्था हुँदा राम्रो हुने धारणा राखिन् । कप्तानको रुपमा लगातार दुई पटक उपाधि जित्नु आफ्ना लागि ठूलो उपलब्धि भएको बताउँदै उनले यसले थप जिम्मेवारी प्राप्त भएको उल्लेख गरिन् । कप्तान शाहीले गत वर्षको उपाधि जोगाउने चुनौती आफूहरुका लागि रहेको र त्यसैले गर्दा टिम अलि प्रेसरमा आएको सुनाइन् ।

त्यस्तै टीम प्रशिक्षक जगदीश भट्टले भलिबल खेलको विकासका लागि राज्यले ध्यान दिनुपर्ने बताए ।

मंगलबार उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो । योसँगै नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । पुरुषतर्फ भने नेपाल चौंथो स्थानमा रह्यो । तेस्रो स्थानका लागि भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सेटमा पराजित भएको थियो ।