नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्रमा आज पनि प्रतिनिधिहरुले राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमाथि सामूहिक छलफलको निष्कर्ष सुनाउने भएका छन् ।
आज बाँकी १३ समूहका टोली नेताले रिपोर्टिङ गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ । छलफलको निष्कर्ष सुनाउने क्रम सकिएपछि दुवै प्रतिवेदन अनुमोदन गर्ने र नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु गर्ने कार्यतालिका रहेको माओवादी केन्द्रको निर्वाचन आयोगले जनाएको छ ।
अध्यक्ष प्रचण्डले गत सोमबार पेस गरेको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले पेश गरेको विधान मस्यौदामाथि छलफल गर्न २५ वटा समूह बनाइएको छ । तीमध्ये हिजो ११ नेताले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरेका थिए ।