नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायके दोस्रो कार्यकालका लागि नेपाल आएका छन् । क्यानको मंसिर २५ गतेको बसेको बोर्ड बैठकले मुख्य प्रशिक्षकको रुपमा पुबुदुलाई अनुमोदन गरेपछि दशानायके दोस्रो कार्यकालका लागि नेपाल आएका हुन् ।
पुबुदुलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले स्वागत गरेका थिए । नेपाल आएपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पुबुदुले २०११ भन्दा अहिले धेरै चुनौती रहेको तर जस्तोसुकै चुनौतीको सामना गर्न पनि आफू तयार रहेको बताए ।
खुल्ला आवेदनबाट छनोट भएका पुबुदुले फेरि नेपाल आउँदा निकै खुसी भएको पनि बताए । पहिले जस्तै यसपटक पनि नेपाली क्रिकेट अर्को स्तरमा पुर्याउन चाहेको भन्दै उनले त्यही अनुसार नेपालले आफूलाई परिवर्तन गुर्नपर्ने धारणा राखे ।
यस अघि दासानायके सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको रुपमा रहेका थिए । उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आईसीसी टी–ट्वान्टी विश्वकप खेलेको थियो ।
मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहिन रहेको थियो । ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजपछि ह्वाटमोरले राजीनामा दिएका थिए ।