एमसीसीमा चीनले देखायो चासो, माओवादी नेता पुन र चिनियाँ उपमन्त्री झाओबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच सोमबार द्विपक्षीय भेटवार्ता भएको छ ।

भेटका क्रममा झाओले नेपालको समसामयिक राजनीति, वामपन्थीहरुबीचको सहकार्य र एकता, अगामी चुनावमा हुने तालमेल तथा वाम घटकहरुका बीचको पार्टी एकताका विषयमा चासो राखेका थिए । यससँगै उनले माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सफलताको शुभकामना दिएको पुनले जनाए ।

चिनियाँ पक्षको जिज्ञासामा नेता पुनले विचार मिल्ने तथा असल क्रान्तिकारी कम्युनिष्टहरुका बीचमा पार्टी एकता गर्ने, त्यो सम्भव नभए सहकार्य र गठबन्धन गरेर आगामी चुनाव र त्यसभन्दा पछिसम्म जाने जवाफ दिएका थिए ।

चिनियाँ उपमन्त्री झाओले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे पनि चासो राखेका नेता पुनले बताए । एमसीसीबारे अध्ययनका लागि सत्तारुढ गठबन्धनले कार्यदल बनाएको प्रसंग उल्लेख गर्दै नेता पुनले कार्यदलको रिपोर्ट आएपछि राष्ट्रिय हित अनुकुल हुने गरी सरकार र गठबन्धन अघि बढ्ने बताएका थिए ।

१३ असोजमा स्वास्थ्य उपचारका लागि थाइल्याण्डको बैंकक गएका पुन स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि थप उपचारका लागि चीन पुगेका थिए । १० मंसिरयता चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराइरहेका उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि द्विपक्षीय भेटवार्तामा जुटेका हुन् ।

नेता पुन वंशाणुगत तथा विश्वमा विरलै देखिने जण्डिस रोगका कारण झण्डै ३ महिनादेखि उपचार गराइरहेका छन् । उनले चिकित्सकको सल्लाहपछि छिटै नेपाल फर्कने बताएका छन् ।