प्रचण्डद्वारा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल सुरु, निष्कर्ष भोलि सार्वजनिक हुने

नेकपा (माओवादी केन्द्र)को जारी आठौं महाधिवेशनमा मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल भएको छ ।

२५ समुहमा विभाजन गरिएको महाधिवेशन प्रतिनिधिहरुबीच प्रज्ञा भवनका विभिन्न हल, पार्टी मुख्यालय पेरिस डाँडा र काठमाडौंका विभिन्न पार्टी प्यालेसहरुमा छलफल भएको हो ।

माओवादीको बुधबार बस्ने बन्दसत्रमा समूहगत निष्कर्ष प्रस्तुत गर्ने तय भएको छ । प्रतिवेदन पारित भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुने माओवादीले जनाएको छ ।

माओवादी महाधिवेशनको दोस्रो दिन सोमबार प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको ४५ पृष्ठको वैचारिक एवं राजनीतिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमा समान विचार राख्ने वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच संयुक्त मोर्चा बनाउने आगामी कार्यदिशा अपनाइने उल्लेख छ ।