नेपाली समाज टेक्सास(एनएसटी)को पदाधिकारी निर्वाचन सम्पन्न भएको छ । नयाँ नेतृत्व छनौटका लागि गरिएको चुनावमा राजेन्द्र वाग्ले १ हजार १ सय २० मतसहित अध्यक्षमा विजयी भएका छन् ।
आफ्ना प्रतिस्पर्धीसँग दुई सय ६२ को भारी मतान्रले वाग्ले एनएसटीको सन् २०२१ ०२३ कार्यकालको नेतृत्वमा निर्वाचित भएका हुन् । दुई प्यानलमा विभाजित एनएसटी चुनावमा अध्यक्षका अर्का प्रत्यासी कमल सापकोटा भने ८ सय ६२ मतमा सीमित भएका छन् । आ आफ्नै योजना र कार्यदिशासहित चुनावी मैदानमा उत्रिएका वाग्ले र सापकोटामा शुरुवाती चरणदेखि नै मतदातामाझ वाग्ले अलि बढी लोकप्रिय मानिएको जनाइएको छ ।
निर्वाचनबाट एनएसटीका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष लगायत अन्य पदाधिकारी समेत चयन गरिएको छ । जसअन्तर्गत सचिव बाहेक अन्य पदमा वाग्ले खेमाकै उम्मेदवारहरुले बाजी मारेको निर्वाचन नतिजाले स्पष्ट पारेको छ । वरिष्ठ उपाध्यक्षमा विवेक कँडेल, उपाध्यक्षमा जनक भण्डारी, महासचिवमा सन्देश उप्रेती, सचिवमा सापकोटा प्यानलका हरिप्रसाद खनाल त्यस्तै, कोषाध्यक्षमा पुन वाग्ले समूहका दिनेश न्यौपाने, सह कोषाध्यक्षमा गोविन्द गौतम, महिला संयोजकमा गुञ्जन भण्डारी र युवा संयोजकमा जेनिन पुरी चयन भएका छन् । त्यस्तै कार्यकारी सदस्यमा ७ जना निर्वाचित भएका छन् ।