काठमाडौमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले जीत हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा जावलाखेलले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
जावलाखेललाई जीत दिलाउन विपिन कँडेल र निकोलस फर्नान्डेसले एक एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा जावलाखेलले दुई गोल गरेको थियो । ५० औं मिनेटमा विपिनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७० औं मिनेटमा निकोलसले गोल गर्दै जावलाखेललाई २–० को जीत दिलाए ।
जीतसँगै जावलाखेलले ६ खेलमा ७ अंक जोडेको छ भने सातदोबाटोले ६ खेलमा ८ अंक जोडेको छ ।