अनिवार्य श्रमदेखि केन्द्रीय सदस्यमा १० प्रतिशत मनोनयन हुनेसम्म, केके भयो माओवादी महाधिवेशनको बन्दसत्रमा ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीका नेता तथा कार्यकर्ताले अनिवार्य शारीरिक श्रम गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

सोमबार कमलादीस्थित प्रज्ञा भवनमा आयोजित महाधिवेशनमा वाचन गरिएको वैचारिक तथा राजनीतिक प्रतिवेदनमा उनले पार्टीलाई उत्पादनसँग जोड्ने उद्देश्यले सो प्रस्ताव राखेका हुन् ।

उक्त प्रस्ताव अनुसार पार्टीका हरेक नेता कार्यकर्ताले वर्षमा कम्तीमा १५ दिन शारीरिक श्रम गर्नुपर्ने उल्लेख छ जसको हिसाब पार्टी समितिले राख्ने र माथिल्लो समितिमा पठाउने बताइएको छ ।

प्रचण्डले मओवादीले निर्वाचन जितेको स्थानीय तहमा ५० युवालाई कृषि सम्बन्धित काममा लगाउने प्रस्ताव समेत गरेका छन् । त्यस्तै नेतृत्व नजितेको तर संगठन मजबुत भएको स्थानीय तहमा पनि ५० युवालाई सो कार्यमा खटाउने प्रस्ताव अघि सारिएको छ ।

बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले अन्तरिम विधान प्रस्तुत गरेका छन् । विधान मस्यौदामा केन्द्रीय सदस्यमा १० प्रतिशत मनोनित गर्ने प्रावधानलाई प्रस्ताव गरिएको छ । प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका हुन् । जसनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचि, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष पदाधिकारीको व्यवस्था प्रस्ताव गरिएको छ ।

पार्टीको केन्द्रीय कमिटीमा २९९ सदस्य हुनेछन् ।