भारतमा तीव्र गतिमा फैलिँदै ओमिक्रोन, सरकारले लगायो यस्तो रोक

कोभिड १९ को ओमिक्रोन भेरियन्ट भारतको १५ वटा राज्य एवम् एक यूनियन टेरिटरीमा फैलिएको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिहिबार सम्ममा ओमिक्रोनको सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा पाइएको छ । उक्त प्रान्तमा ६५ जनामा संक्रमण पुष्टि भएको छ भने दिल्लीमा ६४ जना संक्रमित छन् । त्यस्तै, तेलाङ्गानामा २४, कर्नाटकमा १९, राजस्थानमा २१ र केरलमा १५ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको छ ।

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझ ६ः३० बजे ओमिक्रोन भेरियन्टका सम्बन्धमा समीक्षा बैठक बोलाएका छन् । कोभिड १९ का बिरामीको होम आइसोलेशनलाई कसरी व्यवस्थापन गर्ने भनेर छलफल गर्न दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले समेत आजै उच्चस्तरीय बैठक बसाएका छन् ।

दिल्लीको विपद् व्यवस्थापन प्राधिकरण, डीडीएमए ले बुधबार एक आदेश जारी गर्दै डिस्ट्रिक्ट म्याजिस्ट्रेट, डीएमलाई सबै प्रकारका र जमघटमाथि बन्देज लगाएको छ । जिल्लास्तरीय प्रशासनिक अधिकारी एवम् दिल्ली प्रहरीलाई उक्त आदेश पालना गर्न भनिएको छ । व्यवसायिक संगठनलाई समेत मास्क नलगाएका मानिसलाई प्रवेशमाथि रोक लगाउन आदेश दिएको छ ।

संक्रमित बढ्न थालेपछि क्रिसमस र नयाँ वर्ष मनाउन हुने जमघट एवम् गतिविधिमाथि दिल्ली सरकारले प्रतिबन्ध लगाइसकेको छ ।

भारतमा ओमिक्रोन संक्रमितको संख्या २३६ पुगेकोमा निको हुने १०४ जना छन् ।