नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेकपा एमाले बिखण्डनतर्फ जान लागेको भन्दै अब माथि उठ्न नसक्ने तर्क गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा जनताप्रति गरेका प्रतिबद्धता पूरा नगरेको र पार्टीको कार्यदिशा तथा सिद्धान्त नै परित्याग गरेकाले बिखण्डनतर्फ जाँदै गरेको एमाले अब माथि उठ्न नसक्ने तर्क गरेका हुन् ।
जनताले शक्तिशाली बनाएको एमालेलाई केपी ओलीले कमजोर बनाएकाले एमाले अब पानीको फोका जस्तै भएको उनको जिकिर छ । खनालले गएको निर्वाचनमा जनतासँग गरेको प्रतिबद्धतालाई पनि ओलीले तिलाञ्जली दिएको र पार्टीलाई सही बाटोमा हिँडाउन नसकेका कारण आफूहरुले नयाँ बाटो रोजेको उनको भनाई छ । त्यस्तै खनालले पार्टी निर्माणको चार महिनामै आफूहरुले राष्ट्रव्यापी पार्टी बनाइसकेको दाबी समेत गरे ।
समाजवादमा पुगेर मात्र सुखी नेपाली समृद्ध नेपालको सपना पूरा हुने धारणा खनालले राखे ।