चिकित्सा शिक्षाको शुल्कमा मनोमानी, छानविन गर्न सरकारलाई निर्देशन

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षाको शुल्क तोकिएभन्दा बढी लिएको गुनासो आएको भन्दै सत्यतथ्य छानविन गरी जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले केही मेडिकल कलेजले चिकित्सा शिक्षाको शुल्कका विषयमा छानविन गर्दै प्रतिवेदन पेश गर्न सरकारलाई निर्देशन दिएको हो ।

त्यस्तै बैठकले संघीय शिक्षा विधेयक यथाशीघ्र संसदमा पेश गर्न पनि निर्देशन दिएको छ । बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रलाई संघीय व्यवस्थामार्फत् सञ्चालन गर्नका लागि सरकारले सुझाव संकलन गरिरहेको बताए । मन्त्री पौडेलले अहिले प्लस टुलाई माध्यमिक स्तरमा ल्याइसकेकाले एसईईलाई के गर्ने भन्ने सम्बन्धमा सरोकारवालाहरुको सुझाव लिइरहेको र त्यसका आधारमा सरकारले आवश्यक निर्णय लिने जानकारी दिए । शिक्षासँग सम्बन्धित सबै प्रकारका समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको धारणा उनले राखे ।

बैठकमा सांसद खगराज अधिकारीले प्लस टुलाई माध्यमिक स्तरमा ल्याइसकेकाले एसइईलाई खारेज गर्नुपर्ने बताए । उनले शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन विद्यार्थी, शिक्षक र अभिभावकलाई जिम्मेवार बनाउनुपर्ने धारणा राखे ।

त्यस्तै सांसद गिरिराजमणी पोखरेलले मेडिकल शिक्षा अध्ययनका लागि पूर्वाधार निर्माण विषयमा भएका व्यवस्थाका बारेमा अध्ययन गर्दै स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए ।

समिति बैठकमा संघीय शिक्षा ऐन र प्राविधिक शिक्षा तथा व्यवसायिक ऐनका सम्बन्धमा छलफल भएको थियो ।