प्रथम राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी

नेकपा (माओवादी केन्द्र)ले पुस ११ देखि १३ गतेसम्म हुने प्रथम राष्ट्रिय सम्मेलनको तयारी तीव्र पारेको जनाएको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गर्दै माओवादीले राष्ट्रिय सम्मेलनको तयारी धमाधम भइरहेको जानकारी दिएको हो ।

१ हजार ५ सय ३३ प्रतिनिधिको सहभागिता रहने सम्मेलनका लागि भक्तपुर, ललितपुर र काठमाडौंका प्रवेशद्वारमा स्वागतद्वार राखिने र मुख्य ठाउँहरुमा सम्मेनलबारे पोष्टर राखिने जानकारी माओवादी प्रवक्ता कृष्ण बहादुर महराले दिए । उनले माओवादीको महाधिवेशन नभएर सम्मेलनमात्र भएका कारण देशभित्र र बाहिरबाट कुनै अतिथिलाई आमन्त्रण नगरिने बताए ।

महराले सम्मेलनका लागि राजनीतिक वैचारिक तयारीका लागि अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रतिवेदन लेखिरहेको जानकारी दिए । नयाँ क्रान्तिकारी विचार निर्माण र नयाँ क्रान्तिकारी पार्टी निर्माण गर्नका लागि सम्मेलन केन्द्रीत हुने महराले बताए ।

त्यस्तै प्रवक्ता महराले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न राष्ट्रिय सहमति आवश्यक रहेको पनि बताए । परिमार्जन नगरी राष्ट्रिय सहमतिविना एमसीसी अघि बढ्न नसक्ने उनको भनाई छ ।