कलेजको कमजोर व्यवस्थापनका कारण विद्यार्थीको मृत्यु, विरोध गर्दै विद्यार्थीहरु सडकमा

काठमाडौंको बागबजारस्थित काठमाडौं मोडल कलेजको होस्टलमा बस्ने एक विद्यार्थीको मृत्यु भएको छ ।

रौतहटको गढीमाई नगरपालिकाका १८ वर्षीय सुशील सहनी मोडल कलेजको बाथरुममा ग्यास गिजरमा नुहाउने क्रममा बेहोस भएको र उपचारको क्रममा अस्पताल लगिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । कलेजको लापरवाहीको कारण सहनीको मृत्यु भएको भन्दै विद्यार्थीहरुले मंगलबार प्रदर्शन गरेका थिए । उनीहरुले कलेजको कमजोर व्यवस्थापनका बारेमा पटक पटक जानकारी गराउँदा पनि सुनुवाई नभएकाले घटना घटेको बताएका छन् ।

सहनी कक्षा १२ मा अध्ययनरत थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।